पिसिआर परीक्षणको दायरा बढाउन कांग्रेसद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौ, १६ असार । कांग्रेस पार्टीले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोलीले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।
क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पिसिआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका बिरामीले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको महतले बताए ।
भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पिसिआर परीक्षण गर्नेगरि काम अघि बढाएको दोहोराएको नेता महतले बताए I सह–महामन्त्री महतले स्वास्थ्यमन्त्रीको भनाई उदृत गर्दै भने ‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षण दैनिक १० हजारको गर्ने गरी तयारी भएको पनि बताउनुभएको छ ।’ आगामी ५, ६ अगष्टसम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडी बढ्ने भन्ने विषयमा तयारी भइरहेको पनि मन्त्रीले बताएको जनाइएको छ ।
महत नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउँद, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोना संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।