साउन ७ सम्म अहिलेकै स्वरुपमा लकडाउन, गण्डकीमा थपिए १७ जना संक्रमित

पोखरा, १६ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका गरि १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितहरु तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ जना पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्यनेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १/१ महिला रहेका छन् । यस्तै कास्कीको मादी गाउँपालिकाका १ जना पुरुष, पोखरा महानगरपालिकाका ६ जना पुरुष र १ महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ सय ६६ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २ सय १४ पुगेको छ भने प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको छ ।
सरकारले हालकै स्वरुप अनुसार लकडाउनको अवधिलाई साउन ७ गतेसम्मलाई लम्ब्याउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् भने निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । यस्तै उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहने छन् । लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।