कैलालीमा जनप्रतिनिधिको साप्ताहिक कोरोना परीक्षण, सर्वसाधारणले एक महिना कुर्नुपर्ने



Download our app to get more features

धनगढी, १५ असार । कैलालीको गौरीगंगा नगरपालिका–५ मा शनिबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुग्यो। भारतबाट फर्किएर करिब एक महिनादेखि क्वारेन्टिनमा बसेकाहरु नमूना संकलन हुने खबरले खुसी थिए। तर क्वारेन्टिनमा रहेका सबैको नमूना संकलन नभएपछि उनीहरुको खुसी धेरै बेर टिकेन । त्यती मात्र होइन आरडिटी टेस्टमा पोजेटिभ देखिएकाहरु सबैको समेत नमूना संकलन भएन । बरु स्वास्थ्यकर्मीले यात्रा विवरण समेत नभएका जनप्रतिनिधिको नमूना संकलन गरेर लगे। नमूना संकलनमै विभेद भएको स्थानीय करन साउँदले बताए। ‘वडामा आरडिटि पोजेटिभ देखिएकाहरुको स्वाब संकलन गरिएको छैन् । आरडिटिमा पोजेटिभ देखिएकाहरुसंगै भएका दुधे बालकको स्वाब लिइएको छैन् । तर वडाका जनप्रतिनिधिसहित कुनै यात्रा विवरण नभएका युवाको पहुँचका आधारमा थ्रोट स्वाबको नमूना लगियो। यो विषयमा हामीले असहमती जनाएका छौ।’ उनले भने।
भारतबाट फर्किएका र क्वारेन्टिनमा रहेकाको थ्रोट स्वाब नलिइएको भन्दै विरोध भएको छ । जनप्रतिनिधिहरुले नै विभेदकारी नीति ल्याएपछि क्वारेन्टिनमा बसिरहेका सर्वसाधारण समस्यामा परेका साउँदले बताए। ‘भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्न सकिएको छैन्। क्वारेन्टिनमा रहेकाहरुका लागि कुनै सुविधा छैन् । उनीहरु कोरोना रिर्पोटको पर्खाइमा छन् । रिर्पोट आएपछि घर जान पाईने आशामा छन् । तर वडाका जनप्रतिनिधि आफ्नै कोरोना परीक्षण गरेर बस्छन् ।’ उनले भने।

गौरीगंगा नगरपालिकामा मात्र होइन, कैलालीका अन्य स्थानीय तहमा समेत पहुँचका भरमा कुनै यात्रा विवरण नै नभएकाहरुको कोरोना परीक्षण हुन थालेपछि सर्वसाधारणलाई सास्ती भएको छ। अझ भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुमा समयमै कोरोना परीक्षण नहुँदा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ। उनीहरुले कोरोना परीक्षणमा विभेद भएपछि एक महिना क्वारेन्टिनमै बिताउनुपर्ने बाध्यता रहेको गुनाासो गरेका छन् । तर प्रदेश स्वास्थ्य निर्देशनालय भने उक्त विषय बरो जानकारी नभएको दावी गरिरहेको छ।  स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले अहिलेसम्म कतैबाट पनि यस्तो गुनासो नआएको दावी गरे। उनले सुदूरपश्चिम प्रदेशका सबैको कोरोना परीक्षण गर्न सम्भव नभएकाले जनप्रतिनिधिले बिचार गर्नुपर्ने बताए। ‘स्वास्थ्यकर्मीलाई थ्रोट स्वाब संकलन गर्दा यस्ता विषयमा ध्यान दिन निर्देशन समेत दिएको छौँ।’ उनले भने, ‘यस्तो हुनु राम्रो होइन् तर म कहाँ गुनासो आएको छैन्। तपाईले भन्नुभयो के रहेछ बुझौँला।’

तर धनगढी प्रयोगशालामा समेत स्थानीय तहका जनप्रतिनिधि, उनीहरुका आसेपासेहरुकै नमूनाको चाप हुँदा भारतबाट फर्किएकाहरुले परीक्षणका लागि हप्तौँ कुर्नुपर्ने बाध्यता छ। जनप्रतिनिधिहरुले प्रयोगशालाकर्मीलाई समेत आफूहरुको परीक्षणलाई प्राथमिकतामा राख्न दबाब दिदै आएको आरोप लागेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts