डडेल्धुरा अस्पतालका अध्यक्षले ढाँटे, पिसिआर मेसिन जडान सुरु नै भएको छैन

धनगढी, १५ असार । डडेल्धुरा अस्पताललाई ह्युम्यानीटी फाउन्डेसन नेपालले दिएको भनिएको पिसिआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन् । मेसिनका सबै उपकरण डडेल्धुरा नपुग्दा जडान सुरु नभएको खुलेको छ।
‘ल्याबको सामाग्री पुगेको थिएन, हिजो पिसिआर मेसिन पुग्यो। अन्य सामान आइरहेका छन्। आज पुग्छ होला ।’ अस्पतालका मेकिडल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले भने, ‘इन्जिनीयर पनि आज आउनुहुन्छ। जडान गरेर हस्तान्तरण गरेपछि सञ्चालनमा ल्याउँछौँ ।’ यसअघि प्रयोगशालाका सबै उपकरण नआएका कारण जडान नथालिएको मेसु विष्टले बताए ।
तर डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले भने यसअघि ९ असारमै पिसिआर मेसिन जडान सुरु भइसकेको बताएका थिए। सोमबार पनि उनले ७५ प्रतिशत जडानको काम सम्पन्न भइसकेको दावी गरे । तर उपकरण नै आईनपुगेका बेला कसरी जडान गर्नुभयो ? भन्ने प्रश्नमा ओझाले भने, ‘होईन् हामीले डडेल्धुरा पुगाएका उपकरण जडान गरिसकेका छौँ । केही सामान आउँदैछ त्यसैले म धनगढीमै छु।’
यसअघि अध्यक्ष ओझाले गत सोमबारदेखि नै मेसिन जडानको काम सुरु भईसकेकाले एक हप्ताभित्रै सञ्चालनमा आउने दावी गरेका थिए। ह्युम्यानिटी फाउन्डेसन नेपालले पिसीआर मेसिन खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिसकेको दावी गरेको थियो। तर अझै सबै उपकरण भने डडेल्धुरा पुगेको छैन ।