नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, रसुवामा पनि देखियो संक्रमण

काठमाडौं, १३ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
परीक्षणको क्रममा रसुवा जिल्लामा पनि फैलिएको उनले नेपालका ७७ जिल्लामै कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी गराए ।
यस्तै पछिल्लो घन्टामा १ सय ३६ जनाले कोरोना संक्रमणलाई जितेको पनि उनले बताए । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये २ हजार ८ सय ३४ जना स्वस्थ भएको प्रवक्ता डा. गौतमले जानकारी गराए ।
डा. गौतमले हालसम्म नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको बताए ।