हुम्लाको दुर्गम गाँउ पुगेर बिरामीको सेवा दिँदै डाक्टर केसी

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेका छन् । उनी हुम्लाको ताजाकोट गाउँपालिका –२ मा रहेको मैला स्वास्थ्यचौकी पुगेर बिरामीको उपचार गरिरहेका छन् ।
बिहिवार स्वास्थ्यचौकी पुगेर केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेजनेपाल नामक गैरसरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले जानकारी दिइन् । स्वास्थ्यचौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन् । केसी बाजुराको सदरमुकाम मार्तडीबाट तिन दिन पैदलै हिडेर त्यहाँ पुगेका हुन् ।
केसी पुगेको ठाँउ नेपालको सबैभन्दा दुर्गम ठाउँका रुपमा चिनिन्छ । हुम्लाको सदरमुकाम सिमकोटबाट त्यहाँ पुग्न चार दिन बढी समय लाग्ने गरेको छ । भने बाजुराको सदरमुकाम मार्तडीबाट पनि त्यहाँ पुग्न तीन दिनभन्दा बढी समय लाग्ने गरेको छ ।
स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको उक्त क्षेत्रमा डाक्टर केसी पुग्दा बिरामीलाई ठुलो राहत मिलेको स्थानीय चक्रबहादुर मल्लले बताए । ‘उपचार गर्न बाहिर जान पैसा थिएन, डाक्टर केसी गाउँमै रहेको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गराए’ ताजाकोट गाँउपालिका २ का मन बहादुर रोकायाले भने । उनले थपे, ‘हाम्रो यहाँ त स्वास्थ्यकर्मी समेत आउन मान्दैनन् । तर डाक्टर नै यहाँ आएर सेवा दिँदा खुसी लागेको छ ।’
केसी मैला स्वास्थ्यचौकीमा आइतबारसम्म बिरामीको उपचार गर्नेछन् । केसीले यसअघि सुुदूरपश्चिम प्रदेशका दुर्गम गाउँमा पुगेर सेवा दिइरहेका थिए । निःशुल्क औषधि समेत वितरण गरिरहेका डाक्टर गोविन्द केसी डडेल्धुराबाट हुम्ला पुगेका हुन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा बुधवार मात्रै बाजुराको कोल्टी पुगेका उनले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए ।
बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथाअनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए । गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमाविवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो ।