२२ र २३ असारमा भिटामिन ए कार्यक्रम सञ्चालन गरिदै



Download our app to get more features

काठमाडौं, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । २२ र २३ असारमा सो कार्यक्रम पुनः गरिने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ६ र ७ वैशाख तय गरिएको योकार्यक्रम मन्त्रालयले गत २१चैत स्थगन गरेको थियो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण  २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाखमा गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि ०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गर्छन् । सोही कार्यक्रममा बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत दिइने खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिए ।

जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि ०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ ।यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा ०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गर्छन् । रासस

Last modified on 2020-06-26 16:04:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts