भरतपुर अस्पतालबाट उपचारपछि २२ जना कोरोना संक्रमित डिस्चार्ज, अब आठ जना उपचाररत

चितवन, ९ असार । भरतपुर अस्पतालबाट उपचारपछि २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा चितवनको माडि नगरपालिकाका ६ जना, कालिका नगरपालिकाका एक जना, भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । त्यस्तै, कपिलवस्तु र नवलपरासीका एक–एक जना र नवलपुरका दुई जना गरि जम्मा २२ जना डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार सोमबार तीन जना र बाँकी १९ जना मंगलवार डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरूमा १६ देखि २८ दिनसम्म अस्पतालमा राखेर उपचार पश्चात् लक्षण नदेखिएका बिरामी छन् । उनीहरूलाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले कोरोना भाइरसको संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकालाई १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई दिईएको निर्देशनका आधारमा डिस्चार्ज गरिएको हो । आवश्यक प्रक्रिया पुरा गरि डिस्चार्ज गरि उनीहरूलाई सम्बन्धित निकायका स्थानीय प्रमुख, जनप्रतिनिधि, स्वास्थ्य संयोजक तथा आफन्तहरुको जिम्मा लगाईएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएता पनि दुई सातासम्म उनीहरू घरमा नै अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ । अब भरतपुर अस्पतालमा आठ जना कोरोना संक्रमित उपचाररत छन् ।
२१ जेठमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना भाइरसको संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकालाई १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई निर्देशन दिएको थियो । अर्थात कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उक्त व्यक्तिलाई आइसोलेसनमा राखी १४ दिनपछि डिस्चार्ज गरिनेछ । यसअघि संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा राखी दुईपटक नमुना संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरिएको थियो । अब भने १४ दिनपछि कुनै पनि परीक्षण नगरी सोझै डिस्चार्ज गरिने छ ।
त्यस्तै १४ दिन अस्पताल बसेर पनि लक्षण देखिएका व्यक्तिलाई भने लक्षण देखिन छाडेको तीन दिन पछाडि बिना कुनै परीक्षण डिस्चार्ज गरिने छ। यद्यपि, सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पुष्टि भइ आइसोलेसनमा उपचाररत बिरामीलाई पिसिआर परीक्षण गरी कोरोनामुक्त भएको रिर्पोट नआएसम्म घर नपठाउन अन्तरिम आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका बिरामीलाई लक्षण नदेखिएको भन्दै घर पठाउन थालिएपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।