नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २४ जनाको मृत्यु

काठमाडौं, ९ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० हजार ९९ पुगेको बताए ।
पछिल्लो २४ घन्टामा ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै २ हजार २ सय २४ जना स्वस्थ भएको प्रवक्ता डा. गौतमले बताए ।
यस्तै दैलेखमा एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पनि उनले बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।