सुदूरपश्चिमका पहाडी जिल्लामा सय र तराईमा डेढ सय बेडको आइसोलेसन बनाइने

धनगढी, ७ असार । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि थप आइसोलेसन विस्तार गर्ने योजना बनाएको छ। सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लामा एक सय र तराईका जिल्लामा एक सय ५० बेडको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आइसोलेसन वार्ड निर्माणका लागि स्वास्थ्य कार्यालयलाई लागत स्टमेट पठाउन निर्देशन गरिने बताए। कार्कीले कोरोना संक्रमितलाई होल्ड तथा उपचार गर्न आइसोलेसन वार्ड निर्माण गर्ने तयारी थालिएको जानकारी दिए।
स्वास्थ्य कार्यालयले स्थान छनौट तथा लागत स्टमेट तयार पारेर पठाएपछि सोही आधारमा बजेट माग गर्दै प्रदेशको मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगिने कार्कीले बताए। प्रदेश सरकारले अहिले सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा ५०–५० बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ।