सुदूरपश्चिममा कोरोना संक्रमित ७ सय ७०, आईसोलेसन बेड सङ्ख्या ३ सय ३३ मात्रै

धनगढी, ६ असार । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रदेशमा शुक्रवार साँझसम्म कोरोना संक्रमितको सङ्ख्या सात सय ७० पुगेको जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नौँ वटै जिल्लामा संक्रमण फैलिएको बताउँदै संक्रमितको सङ्ख्या सात सय ७० पुगेको जानकारी दिए ।
उनका अनुसार प्रदेशमा सबैभन्दा बढि कैलालीमा दुई सय ८ जना संक्रमित रहेका छन् । ‘डडेल्धुरामा एक सय ३१, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९५, बाजुरामा ६९, अछाममा ५९, डोटीमा ५७, बझाङमा १९ र दार्चुलामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने ।
संक्रमित मध्ये एक सय २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक सय १४ जनालाई विभिन्न अस्पतालमा राखिएको छ । ५ जनाको मृत्यु भईसकेको छ भने बाँकी ५ सय २७ जना संक्रमितको अवस्थाबारे सामाजिक विकास मन्त्रालय नै अनभिज्ञ देखिएको छ ।
मन्त्रालयका अनुसार संक्रमितको सङ्ख्या सात सय ७० पुगेकामा सुदूरपश्चिम प्रदेशभरी उनीहरुलाई उपचारका लागि राख्ने आईसोलेसन बेडको सङ्ख्या भने तीन सय ३३ मात्रै रहेको छ । मन्त्रालयले शुक्रवार साँझ मात्रै सार्वजनिक गरेको तथ्याङमा नौँ वटै जिल्लामा तीन सय ३३ बेडको आईसोलेसन रहेको उल्लेख छ ।
सेती प्रादेशिक अस्पतालमा ७४, टीकापुर अस्पतालमा ३२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार, चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच, महाकाली अस्पतालमा ३३, जिल्ला अस्पताल अछाममा १७, बयलपाटा अस्पतालमा १३, जिल्ला अस्पताल बझाङमा ३५, डोटीमा १०, बाजुरामा १२, बैतडीमा ८, गोकुलेश्वर अस्पतालमा चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, डडेल्धुरा अस्पतालमा ४०, जोगबुढा अस्पतालमा ८, जिल्ला अस्पताल दार्चुलामा १३, सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन र मालाखेती अस्पतालमा २० शय्याको आइसोलेसन रहेको मन्त्रालयले जनाएको छ ।
आईसोलेसन बेड सङ्ख्या कम र संक्रमितको सङ्ख्या कम भएपछि सुदूरपश्चिममा अधिकांश कोरोना संक्रमित आफ्नै घरमा छन् । यस्ले समुदायस्तरमा संक्रमण फैलिने खतरा बढेको छ ।