पछिल्लो २४ घण्टामा नेपालमा ४२६ कोरोना संक्रमित थपिए

काठमाडौं, ५ असार । पछिल्लो २४ घण्टामा नेपालमा चार सय २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार प्रदेशिक अस्पताल मोरङमा गरिएको परीक्षणमा १५, प्रदेशिक अस्पताल जनकपुरमा १५ जना, राष्टिय प्रयोगशाला टेकुमा २४१ जना, किटजन्य पशुरोग अस्पताल हेटौडाको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना, क्षयरोग केन्द्र प्रदेशिक अस्पताल गण्डकीमा गरिएको परीक्षणमा ७ जना, प्रदेशिक अस्पताल रुपन्देहीमा भएको परीक्षणमा १०७ जना र सेती प्रदेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको डा. गौतमले बताए । साथै देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको छ । यसमध्ये महिला सात सय सात र पुरुष सात हजार पाँच सय ६७ छन् । यस्तै कोरोना मुक्त हुनेको संख्या पनि १४ सय दुई पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई सय ७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् ।