चितवनका ७४ वर्षीय क्यान्सरपीडित वृद्ध र उनकी ७३ वर्षीया श्रीमतीले जिते कोरोना

चितवन, ५ असार । भरतपुर महानगरपालिका–६ का ७४ वर्षीय क्यान्सरका बिरामी र उनकी ७३ वर्षीया श्रीमतीले कोरोना जितेका छन् । विहिवारको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूमा कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । डिस्चार्ज भएता पनि एक–दुई साता उनीहरू घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ । उनीहरूमा उच्च आत्मबल रहेको उनले बताए ।
कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको ७४ वर्षीय वृद्धलाई श्वासप्रश्वासमा केही समस्या देखिएपछि ७३ वर्षीया श्रीमतीसहित भरतपुर अस्पतालको आइसोलेसनमा स्थानान्तरण गरिएको थियो । ९ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको उनीहरूलाई सोहि दिन बेलुका भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको थियो । वृद्व दम्पतीमा भारतबाट उपचार गरेर फर्कदा कोरोना पोजेटिभ देखिएको थियो । झन्डै एक महिनापछि कोरोना जितेर शुक्रवार उनीहरू घर फर्किएका हुन् ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।