सुदूरपश्चिमका तीन जिल्लामा गरि १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ४ असार । सुदूरपश्चिमका तीन जिल्लामा गरि १ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले बताएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको बताए । दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन् । यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।
उता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका छन् । योसँगै जिल्लामा संक्रमितको सङख्या ५१ जना पुगेको छ ।
उता डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रशाद भट्टले बताए । संक्रमितको स्थानीय तह भने खुलेको छैन् । योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय २२ पुगेको छ । सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला र स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो ।