स्वास्थ्यमा बढ्यो बजेट: पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा केन्द्रीत

रुपन्देही, २ असार । प्रदेश ५ सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बजेट वृद्धि गरेको गत वर्ष ७४ करोड विनियोजन गरेको सरकारले यस वर्ष १ अर्ब भन्दा बढी रहेको छ ।
कोरोना महामारी, सरुवा रोग अस्पताल निमार्ण, जिल्ला अस्पतालको स्तरवृद्धि, नर्सिङ र प्यारामेडिक्स अध्ययन, कलेज स्थापना लगायतका क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ । प्रदेश ५ सरकारका मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलल स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा जोड दिने बताएको छ । कोभिड–१९ को रोकथामका कामको अनुभवका आधारमा स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्ति बढाउन थालिएको बताए ।
उनले जिल्ला अस्पताललाई ५० बेडको बनाउने नीति अनुसार पूर्वाधार विकासका लागि सहयोग गर्ने बताए । त्यसका लागि आउने आर्थिक बर्षमा रुकुमपूर्व, कपिलवस्तु, रोल्पा, पाल्पा र रुपन्देहीको भीम अस्पतालको भौतिक पूर्वाधारमा सहयोग गर्ने उनले बताए । त्यसका लागि प्रदेश सरकारले १५ करोड बजेट विनियोजन गरेको छ ।
त्यसैगरी दाङको लमहीमा आधुनिक ट्मा सेन्टरको निर्माणका लागि ५ करोड, बुटवलको लुम्बिनी र दाङ राप्ती प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा प्रदान गर्न, रुपन्देहीको देवदमा स्वास्थ्य प्रदेश तालिम केन्द्रका लागि बजेट विनियोजन गरिएको छ ।
दाङको बिजौरी र बुटवलमा रहेको लुम्बिनी प्रदेश स्तरीय आयुर्वेदिक अस्पतालमा आयुर्वेदिक औषधिको उत्पादन थालिने गरी बजेट छुट्याइएको पोखरेलले बताए।मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री पोखरेलले कपिलवस्तुको शिवराज नगरपालिकामा अस्पताल निर्माणका लागि १ करोड बजेट छुट्याइएको बताए ।
प्रदेश ५ सामाजीक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले स्वास्थ्यमा बजेट राम्रो भएको बताएका छन् । प्रदेशमा स्वास्थ्यमा संघियसरकारले लामो समय सम्मगर्न नसकेका काम प्रदेश सरकारले बजेटमा सम्बोधन गरेको बताए । डा खनालले यस वर्षको बजेटमा स्वास्थ्यमा नयाँ कार्यक्रम आएको समेत बताए । कपिलबस्तुमा सरुवा रोग अस्पताल, जिल्ला अस्पताललाई स्तरबृद्धि गर्ने नर्सिड र प्यारामेडिक्स कलेज स्थापना गरि जनशक्ती उत्पादन गर्ने जस्ता कार्यक्रम रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा प्रदेश ५ सरकारका बजेटः
१. कोभिड-१९ ले स्वास्थ पूर्वाधारको विकास र विस्तारप्रति हामी सबैलाई गम्भीर बनाएको छ । गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न जिल्लास्थित अस्पतालहरूलाई ५० शैयाको अस्पतालमा स्नरोन्नति गरी सेवा बिस्तार गर्ने नीतिअनुरूप स्तरोन्नति हुन बाँकी रहेका रूकुम पूर्व अस्पताल, रोल्पा अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, पाल्पा अस्पताल र भीम अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी सेवा बिस्तार गरिनेछ । यसका लागि रू. १५ करोड विनियोजन गरेको छु ।
२. स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई आधारभूत सेवा दिनसक्ने गरी यी संस्थाको पूर्वाधार निर्माण गरिनेछ । स्थानीय तहसँगको लागत सहभागितामा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्न रू। ५ करोड बजेट विनियोजन गरेको छु ।
३. प्रदेश मातहतका सरकारी अस्पतालको पूर्वाधार विकास गर्न रुपन्देहीको भीम अस्पताल, रुकुम पुर्वको जिल्लास्तरीय अस्पताल, बर्दिया अस्पताल र नवलपरासीको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन निर्माण कार्यका लागि रू. २३ करोड ९० लाख विनियोजन गरेको छु ।
४. कोभिड-१९ लगायतका सरुवा तथा संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचार एवम् प्रयोगशाला परीक्षण सेवासहित कम्तिमा एकसय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गरिने छ । प्रदेशमा कोभिड-१९ महामारीको सबैभन्दा वढ्ता प्रकोप देखिएको जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण तथा उपचार अस्पताल निर्माण शुरू गर्न रू. १ करोड विनियोजन गरेको छु ।
५. प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई “जैविक सुरक्षा तह-२” मा स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना निर्माण गरिनेछ । विभिन्न अस्पतालहरूमा सञ्चालनमा रहेका प्रयोगशालाहरूको क्षमता विकास गरी थाइराइड, लिपिड प्रोफाइल लगायत वायोकेमेष्ट्री परीक्षण सेवा प्रदान गर्नका लागि रू. १ करोड ७५ लाख बजेट विनियोजन गरेको छु ।
६. सडक दुर्घटनामा परेका व्यक्तिको तत्काल उपचार र जीवन रक्षाका लागि दाङको लमहीमा आधुनिक र सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको थालनी गर्न रू. ५ करोड विनियोजन गरेको छु ।
७. क्यान्सर रोगको उपचारका लागि व्यक्ति तथा परिवारले भोग्नु परेको पीडालाई मध्यनजर गरी क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सर रोगको निदान, नियन्त्रण तथा रोकथामका कार्यक्रम कार्यान्वयन गर्न रू. ५० लाख बजेट विनियोजन गरेको छु । साथै, गंगालाल मुटु अस्पतालको सहकार्यमा राप्ती प्रादेशिक अस्पतालमा मुटुरोग सेवा प्रदान गरिनेछ ।
८. सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि प्रदेशमा प्रसुती अस्पताल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ । मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र र नवजात शिशु सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु । प्रसुती सेवा बिस्तारका अतिरिक्त नवजात शिशुहरूको स्वास्थ्य परीक्षण गरी जन्मजात रोगहरूको पहिचान गर्नुका साथै मातृ तथा शिशु रुग्णता र मृत्युदरमा कमी ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । यी कार्यक्रमहरूका लागि रू. ६ करोड २७ लाख विनियोजन गरेको छु ।
९. ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरघरमा उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिएको छु । यसको लागि रू.१ करोड ९८ लाख विनियोजन गरिएको छ ।
१०. नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापनको लागि प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवा प्रवाह गरिनेछ । विपन्न समुदायका नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा मृगौला डाइलाइसिस गर्दा आवश्यक पर्ने इरेथ्रोपोएटिन इन्जेक्सन खरिदमा ५० प्रतिशत छुट दिने व्यवस्थाका लागि रू. १ करोड बजेटको व्यवस्था गरेको छु ।
११. कोभिड-१९ ले सिर्जित परिस्थितिबाट पाठ सिक्दै स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमता विकास कार्यक्रमका लागि रू.२ करोड ३७ लाख विनियोजन गरेको छु । प्रदेशमा स्वास्थ्यसम्बन्धी आवासीय तालिम उपलब्ध गराउन रूपन्देहीको देवदहमा स्वास्थ्य तालिम केन्द्रको पूर्वाधार विकासको लागि विस्तृत परियोजना प्रतिवेदन तर्जुमा गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई आधारभूत, विशेषज्ञ तथा विशिष्टीकृत सेवाको रुपमा विकास र बिस्तार गरिनेछ । बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालय र बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयलाई प्रदेशको लागि आवश्यक आयुर्वेदिक औषधि उत्पादन केन्द्रको रुपमा विकास गरी प्रदेशलाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन गरेको छु । साथै, बाँके र कपिलवस्तुका आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु ।
१३. स्वास्थ्य महामारीलाई सामना गर्नसक्ने जनशक्तिको दिगो आपूर्तिका लागि बर्दिया अस्पताललाई स्टाफ नर्स, मिडवाइफजस्ता मेडिकल प्राविधिक उत्पादन गर्ने संस्थाको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गरिनेछ । यसका लागि रू. १ करोड विनियोजन गरेको छु ।
१४. स्वास्थ्य उपकरणहरूको मर्मत संभार गर्ने जनशक्तिको उत्पादन गर्नका लागि रुपन्देहीको शिक्षा तालिम केन्द्रको परिसरमा बायोमेडिकल उपकरण प्राविधिक विद्यालय स्थापना गरी बायोमेडिकल इन्जिनियरिङमा डिप्लोमा कोर्स सञ्चालनका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु ।
१५. स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न र प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन न्यूनतम सेवा मापदण्ड तथा राष्ट्रिय चिकित्सा मापदण्डका आधारमा प्रादेशिक मापदण्ड तयार गरी सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वास्थ्य संस्थाहरूको पुनर्संरचना गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१६. विशेष उपचारका लागि प्रदेशबाहिर जानुपर्ने स्थितिमा कमी ल्याउन लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरेको छु । लुम्बिनी प्रादेशिक अस्पतालको गुरूयोजना कार्यान्वयन गर्न र राप्ती प्रादेशिक अस्पतालको गुरूयोजना तयार गर्न समेत रकमको व्यवस्था मिलाएको छु ।
१७. स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवाहरूको पहुँच वृद्धिका लागि जिल्लास्थित अस्पतालहरूमा दन्त सेवा, आँखा उपचार सेवा र फिजियोथेरापी लगायतका सेवा बिस्तार गर्न रू. ८ करोड ३० लाख विनियोजन गरेको छु ।
१८. प्रदेश र स्थानीय तहको लागत साझेदारी हुने गरी कोभिड-१९ को प्रकोपस्थल बन्न पुगेको बाँकेको नरैनापुर र शान्तिप्रक्रियाको थालनी भएको ऐतिहासिक स्थल दाङको हापुरेमा रहेका स्थानीय तहमातहतका स्वास्थ्य संस्थाको संरचना निर्माण र सेवा बिस्तारको लागि रू. ३ करोड विनियोजन गरेको छु ।