लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमबाट २६ जना संक्रमित डिस्चार्ज

धनगढी, १ असार । कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट सोमबार २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि हिजै डिस्चार्ज गरिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका चार जनालाई डिस्चार्ज गरिएको बताए । १४ दिन आइसोलेसनमा बिताएका र उनीहरुमा कुनै प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिका अनुसार सात दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसअघि संक्रमितलाई दुई पटक लगातार पिसिआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो ।