निजी प्रयोगशालामा पिसिआर परीक्षण, खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्ने
काठमाडौं, ३२ जेठ । अब निजी प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पिसिआर परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पु¥याएर निजी प्रयोगशालाहरुले पिसिआर परीक्षण गर्न पाउने भएका हुन् ।
परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भने, ‘मन्त्रालयको स्वीकृति लिएर लिइएका पिसिआर नमुना आवश्यक प्रकृया पुरा गरी निजी प्रयोगशालालाई जाँच्न दिने व्यवस्था गरिएको छ । खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’ यसअघि सरकारले नै देशका विभिन्न ठाउँमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरेपनि संकलन भएका नमुनाहरु लामो समय होल्ड हुने गरेका छन् ।
मन्त्रालयले विदेश जानका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि गरिने नमुना संकलन उपत्यकाका तीन अस्पतालबाट हुने व्यवस्था गरेको छ । प्रवक्ता गौतमका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा निरोगिताको प्रमाणपत्रका लागि नमुना संकलन गरिनेछ ।