गुल्मीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, नेपालमा संख्या १९ पुग्यो



Download our app to get more features

गुल्मी, ३२ जेठ । गुल्मीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका निवासी ३६ वर्षीय पुरुषको शनिवार राती मृत्यु भएको हो । रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत उनको शनिबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । 

मृतक दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनी भारतबाट जेठ २ गते गाउँ आएर स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई पहिलो पटक जेठ १२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । 

संक्रमणको पुष्टि भएपछि १८ दिनदेखि उनको आइसोलेसनमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको पुष्टिसंगै पछिल्ला तीन वटा रिपोर्ट पनि पोजेटिभ नै आएको आइसोलेसनमा कार्यरत डाक्टर कविराज भुसालले जानकारी दिए । 

बाहिर उपचार गर्न मानेनन्
स्वभाविक रुपमा ३६ वर्षीय पुरुषलाई क्यान्सरको पीडा एकातिर थियो । त्यो माथी कोरोना संक्रमणको पुष्टि भएपछि समस्या बल्झिदै गयो । उनी कोरोना संक्रमणको पुष्टि भएपछि जेठ १३ गते आइसोलेसनमा भर्ना भए । उनको स्वास्थ्य अवस्था देखेपछि चिकित्सकहरुले तत्काल थप उपचारको लागि बाहिर पठाउन जोड गरे । तर, उनले मानेनन् । 

‘अन्तिम अवस्थासम्म थप उपचारका लागि बाहिर पठाउन खोजे पनि म आफ्नै ठाउँमा मर्छु भन्नुभयो’ उपचारमा संलग्न डाक्टर कविराज भुसालले भने,‘श्रीमतीको आग्रह समेत मान्नु भएन् ।’ 

गाउँमै अन्त्येष्टि
मृतकको शनिबार राति नै नेपाली सेनाको टोलीले शव व्यावस्थापन गरेको छ । उनको गएराति परिवारले भनेकै स्थानमा अन्त्येष्टि गरिएको वीरभद्रजंग गुल्म गुल्मीका उपसेनानी हरि गुरुङले जानकारी दिए । 

यसअघि गुल्मीको मदाने गाउँपालिका निवासी एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । यो सँगै गुल्मीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts