नेपालमा थप दुई जनामा मृत्यु पश्चात कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ । नेपालमा थप दुई जनामा मृत्यु पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाराका ५ वर्षका एक जना बालक र पर्सामा बेवारिसे शवको पोस्टमार्टम गर्दा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका २५ वर्षका पुरुषको शव गत जेठ २८ गते फेला परेको र पोस्टमार्टम गर्दा उनको स्वाब पनि परीक्षण गरिएको र उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै बाराका ५ वर्षको बालकलाई कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको र स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनले बालकको कोरोना परीक्षणको रिपोर्ट नआउँदै शुक्रवार उपचारको क्रममा मृत्यु भएको जानकारी गराए ।
यस्तै नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।
उनले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ हजार ३ सय ३५ रहेको बताए ।