अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० लाख नाघ्यो
यस्तो छ विश्वका केही गतिविधि

काठमाडौं, २९ जेठ । भारत सरकारले हाइड्रोक्सीक्लोरोक्वीन नामक औषधि निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । कोरोना भाइरस संक्रमितका लागि फाइदाजनक हुने भनिएपछि भारतले २५ मार्चदेखि औषधि निर्यातमा पूर्ण रुपले प्रतिबन्ध लगाएको थियो । केन्द्रीय रासायन एवं उर्वरक मन्त्री डीवी सदानन्द गौडाले हिजोदेखि हाइड्रोक्सीक्लोरोक्वीन औषधिको निर्यात फुकुवा गरिएको जानकारी दिए । भारतमा पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमित १० हजारको हाराहारीमा थपिँदै गएका छन् । विश्वकै पाँचौ कोरोना संक्रमित मुलुक भारतमा हालसम्म २ लाख ८७ हजार नाघेको छ भने ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा प्रभाव पर्ने विषयमा कुनै ठोस प्रमाण फेला नपरेको बताएको छ । विश्व स्वास्थ्य संगठनको आपातकालीन कार्यक्रमका प्रमुख डा माइक र्यानले मौसम परिवर्तन या फेरि तापमानमा उतार चढावले कोरोना भाइरसको प्रसार कम वा बढी हुने ठोस प्रमाण हालसम्म फेला नपरेको बताए । उनले मौसम परिवर्तनका साथै कोरोना भाइरस झन् बढी खतरनाक वा तीव्र गतिमा फैलिन थाल्छ भन्ने विषयमा ठोस प्रमाण फेला नपरेकाले कुनैपनि कुराको निष्कर्समा पुग्न नसकिने बताए । महामारीको सुरुवाती क्रममा केही वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस अन्त्य हुने भनेर अनुमान गरेको भएपनि भाइरसको व्यवहार हालसम्म परिवर्तनशिल रहेको भन्दै र्यानले सुरुमा लक्षण देखिने कोरोना भाइरस पछिल्लो समय लक्षण बिहीन हुँदै गएकाले सबै सचेत हुनु पर्ने र अनुमानको भरमा नबस्न आग्रह गरे ।
कहाँ बढ्यो संक्रमितको संख्या
विश्वभर फैलिएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । कोरोना भाइरसका कारण अमेरिकामा २० लाख नाघिसकेको छ । कोरोना संक्रमणका कारण हालसम्म १ लाख १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण ब्राजिल विश्वको दोस्रो प्रभावित मुलुक हो । ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा हालसम्म ७ लाख ७५ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३९ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
रूस संक्रमणको हिसाले विश्वको तेस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण ४ लाख ९४ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ , चौथो स्थानमा बेलायत छ भने पाँचौ स्थानमा भारत रहेको छ । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् भने ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
दक्षिण कोरियामा फेरि कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या बढ्न थालेको छ । बुधवार सार्वजनिक गरिएको तथ्यांकमा संक्रमणका ५० नयाँ केस फेला परेका छन् । त्यसअघि मंगला ४० जना नयाँ संक्रमित फेला परेका थिए । दक्षिण कोरियामा हालसम्म कोरोना भाइरसका कारण १२ हजार संक्रमित भएका छन् भने २ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
अफ्रिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीवेन्शनका अनुसार अफ्रिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । अफ्रिका महादेशको ५४ वटै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसकेको भन्दै केन्द्रले ५ हजारभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।
फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने दरमा कमि आएपनि संक्रमण हुने दर रोकिएको छैन । मंगलवार कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्युको तुलनामा बुधवार एक तिहाई कमको मृत्यु भएको छ । फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण १ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर ७४ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै विश्वभर संक्रमित भएकामध्ये ३७ लाख ७८ हजारभन्दा बढी स्वस्थ भएका छन् ।