बढि शुल्क असुल्ने मनमोहन अस्पताललाई मात्र वाणिज्य विभागको जरीवाना, नर्भिकको फाइल 'अड्काइयो'

काठमाडौं, २७ जेठ । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भएका बेला उपभोक्तासँग अचाक्ली सेवाशुल्क असुल्ने अस्पतालहरु विरुद्ध वाणिज्य विभागले गरेको कार्वाही पूर्वाग्रही देखिएको छ ।
बढि शुल्क लिएको आधारमा छानवीन अघि बढाइएका तीनवटा अस्पतालहरु मध्ये एउटालाई मात्र जरीवाना गराइएको छ । बढि शुल्क लिएको उजुरी परेका नर्भिक र मनमोहन मेमोरियल अस्पतालमध्ये मनमोहनलाई मात्र जरीवाना गरेर नर्भिकका विषयमा भने अझै निर्णय नै गरिएको छ ।
बिरामी लिन नमानेको आरोपमा छानवीनमा परेको विराटनगरको नोबेल अस्पतालले भने विभागलाई दिएको जवाफ चित्त बुझ्दो पाइएको भन्दै कार्वाही गरिएको छैन । तर, नर्भिक अस्पतालको हकमा भने बढि शुल्क असुल गरेको प्रमाण भेटिएपनि ओपिडी टिकट वा इमजेन्सी टिकट भन्ने कृत्रिम अन्योल खडा गरेर कार्वाहीबाट उम्काउन खोजिएको विभाग निकट स्रोतले जनाएको छ । नर्भिकसँग थप कागजात माग गरिएको भन्दै कार्वाही टार्न खोजिएको आशंका गरिएको छ ।
तर, विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने नर्भिकको घटना अनुसन्धानकै क्रममा रहेको दावी गरेका छन् । अस्पतालसँग थप कागजात माग गरेको र सो उपर थप निर्णय नगरेको सुवेदीको भनाइ छ ।