चितवनमा कोरोना संक्रमित व्यक्तिको मृत्यु, नेपालमा संख्या १५ पुग्यो

चितवन, २७ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
चितवनको भरतपुरमा कोरोना संक्रमित ६८ वर्षीय एक वृद्वको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको हो ।
भरतपुर महानगरपालिका ११ का स्थानीयबासी ती वृद्वको आज बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
वृद्वलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको भन्दै डा. तिवारीले वृद्धको दुवै फोक्सोमा कडा खालको निमोनियाको समस्या रहेको बताए ।
उनी मधुमेह र उच्च रक्तचापका बिरामी समेत रहेको अस्पतालले जनाएको छ । केही दिन अघिदेखि आईसीयूमै उपचाररत ती बिरामीको स्वास्थ्य अवस्था सोमवार नै गम्भीर बनेको थियो ।
मृत्युपछि उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको छ । शवको व्यवस्थापनबारे छलफल हुँदैछ ।
शुक्रवार र शनिवार संकलन गरिएको नमुना परीक्षणमा उनी सहित सोमवार चितवनमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।