चितवनमा पहिलो पटक चिकित्सक र नर्समा देखियाे काेराेना, लकडाउनमा थप कडाई

चितवन, २६ जेठ । चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
चितवनको भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको पिसिआर विधिबाट स्वाब परीक्षणको क्रममा सोमवार दुई जना चिकित्सक र एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
एकजना चिकित्सक चितवनको नारायणी सामुदायिक हस्पिटल र नर्स मनाकामना अस्पतालमा कार्यरत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अन्य जिल्लामा कार्यरत अर्का चिकित्सकले भने भरतपुर अस्पतालबाट स्वाब संकलन गराएको भएपनि अहिले उनी काठमाडौं रहेको पाईएको भरतपुर अस्पतालले जनाएको छ ।
शुक्रवार र शनिवार संकलन गरिएको नमुना परीक्षणमा स्वास्थ्यकर्मी सहित सोमवार चितवनमा ३० जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । जसमध्ये २४ जना चितवनका , ५ जना नवलपुर र एक जना धादिङका रहेको बताईएको छ ।
स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएसँगै चितवनमा थप सतर्कता अपनाईएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । परीक्षणको दायरा बढाईएसँगै संक्रमितको संख्या समेत बढन् सक्ने अनुमान समेत गर्न थालिएको छ । उता जिल्लामा संक्रमितको संख्या वृद्धि भएसँगै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भोलिदेखी लकडाउनमा थप कडाई गरिने बताए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।