कोरोनाको केन्द्रबिन्दु बनेको प्रदेश २ मा मात्रै १३ सयभन्दा बढी संक्रमित



Download our app to get more features

जनकपुर, २६ जेठ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण नेपालका सात वटै प्रदेश प्रभावित बनेको छ । जसमा कोरोनाको केन्द्रबिन्दु प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ३ हजार ७ सय ६२ जना कोरोना संक्रमितको संख्या पुगेकोमा प्रदेश २ मा मात्रै १ हजार ३ सय २३ जना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ ।

प्रदेश २ को सामाजीक विकास मन्त्रालयले नियमित गर्ने कोभिड–१९ सम्बन्धी मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सोमवार मात्रै प्रदेश २ मा एक सय ६७ जना कोरोना संक्रमित थपिएको बताए । 

प्रदेश २ को आठ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको अवस्थामा सबैभन्दा धेरै रौतहटमा मात्रै ४ सय ८ जना संक्रमितहरु छन् । त्यसपछि क्रमशः सर्लाहीमा ३ सय ७० जना, पर्सामा १ सय १९ जना, महोत्तरीमा १ सय ४ जना, सप्तरीमा ९२ जना, बारमा ७७ जना, सिरहामा ४९ जना र धनुषामा १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. घिमिरेले बताए ।

हालसम्म प्रदेश २ मा कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय २६ जना डिस्चार्ज भइसकेका छन् ।

हालसम्म २२ हजार ६ सय ६८ पिसिआर विधिबाट नमूना जाँचका लागि नमूना संकलन गरिएपछि १२ हजार ३ सय ८० जनाको नतिजा आउन बाँकी रहेको भन्दै सचिव डा. घिमिरेले १२ हजार ६ सय ९ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको बताए ।

खुला सीमानाका भएकै कारण लकडाउन पछि प्रदेश २ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको र समुदाय स्तरमा पनि कोरोना संक्रमित थपिँदै गएको उनको भनाइ छ ।

Last modified on 2020-06-08 17:18:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts