सुदूरपश्चिमबाट संकलित १६ सय ४२ नमुना प्रयोगशालाको डिफ्रिजमा थन्किए

धनगढी, २६ जेठ । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणले गति लिन सकेको छैन् । प्रदेशमा एउटा मात्रै प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन नसकेको हो ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आइतबारसम्म संकलन भएका एक हजार ६ सय ४२ नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संकलित नमुना अहिले धनगढी प्रयोगशालामा परीक्षणको पर्खाइमा छन्।
निर्देशनालयले यसअघि संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप नमुना संकलन स्थगीत गरेको छ। धनगढी प्रयोगशालाबाट दैनिक बढीमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलित नमुना डिफ्रिजमा थन्क्याउनुपर्ने बाध्यता आईलागेको हो।
थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टाभित्र परीक्षण गर्न सकेमा प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने भए पनि सुदूरपश्चिममा भने एउटा मात्र प्रयोगशाला हुँदा लामो समय थन्क्याउनु परिरहेको हो। प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले १५ चैतमा धनगढीसहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सकेको छैन् । धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघिय सरकारले पठाएको थियो ।