बुटवलका ८ वर्षीया बालिकासहित नौ जनाले जिते कोरोना



Download our app to get more features

रुपन्देही, २६ जेठ । बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो । 

लगातार दुईपटकको रिपोर्टमा कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरे । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताए ।

घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उनले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह गरे ।

त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वोरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका  सामग्री प्रदान गरे ।  

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेसन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन् । 

उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वोरो देखिएपनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेसनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन् । दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए । कपिलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् । 

अब आइसोलेसनमा ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ । सम्भवत आइतबार बेलुका नै वा सोमबार स्वाब संकलन गरेर पठाउने गरि तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले बताए । 

आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेकजाँच गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेसन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले बताए । 

समुदायमा सचेतना दूत बन्न आग्रह
डिस्चार्ज हुनेहरुलाई विदाई गर्दै प्रमुख सुवेदीले उच्च मनोबल कायम राख्ने र समुदायमा सचेतना दूतका रुपका काम गर्न आग्रह गरे । ‘तपाइँहरुको उच्च मनोबलले समुदायमा रहेका अरुलाई पनि प्रेरणा मिल्ने छ, अब समुदायमा फर्केर स्वनियममा बस्न र सजग राख्न सचेतना दूतका रुपका काम गर्नुहोला’ प्रमुख सुवेदीले भने । प्रमुख सुवेदीले आइसोलेसन सेन्टरमा सिकेको योगा, ध्यान र आहारविहारलाई नियमित राख्दै परिवार, टोल र सिंगो समुदायमा सचेतना दूतका रुपमा प्रस्तुत हुन आग्रह गरे ।

सात्विक भोजन र मनोबल उच्च भएपछि कोरोना जितियो
सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको बताउँदै कपिलवस्तुको बाणगंगा–५ का वडाअध्यक्ष भिष्मराज भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए ।

उनले संक्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफै स्कुटी चलाएर बुटवल आएका थिए । ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो, तर यहाँआएपछि यहाँको वातावरणले सबै तनाव मुक्त बनायो’ वडाअध्यक्ष भुसालले भने मनोबल उच्च राख्ने र सन्तुलित आहार गर्ने हो भने कोरोना जितिँदोरहेछ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts