कोभिड–१९ सम्बन्धी मन्त्रालयको मिडिया ब्रिफिङ गर्दै विदा भए डा.देवकोटा

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी गर्दै आएको नियमित मिडिया ब्रिफिङ गर्दै प्रवक्ता डा. विकास देवकोटा विदा भएका छन् ।
मन्त्रालयले गर्दै आएको नियमित कोभिड–१९ सम्बन्धी मिडिया ब्रिफिङ आइतवार आफ्नो अन्तिम मिडिया ब्रिफिङ भएको भन्दै डा. देवकाटाले विदा मागेका छन् ।
मन्त्रालयले उनलाई गुणस्तर नियमन महाशाखामा सरुवा गरेसँगै उनले ७६ दिने मिडिया ब्रिफिङमा सहयोग गर्नुहुने माननीय मन्त्री, राज्यमन्त्री, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिए ।
आइतवारको मिडिया ब्रिफिङको क्रममा डा. देवकोटाले आफ्नो जिम्मेवारी हेरफेर भएकाले अबदेखि गुणस्तर नियमन महाशाखाको काम सम्हाल्ने र भोलीदेखि नयाँ जिम्मेवारी पाउनुभएका डा.जागेश्वर गौतमले कोभिड–१९ को मिडिया ब्रिफिङ सहित मन्त्रालयका अन्य कामका लागि पनि रहनु हुने भन्दै विदा लिएका छन् ।
काम र जिम्मेवारीको व्यस्तताले फोन सम्पर्कमा नआउँदा, फोन नउठाउँदा चित्त दुखेकोमा पनि उनले क्षमा माग्दै नयाँ जिम्मेवारीमा जाँदा सबैले सहयोग गर्नु हुने आशा व्यक्त गरे ।
मन्त्रालयले परोपकार तथा प्रसुति गृहका निर्देशक डा. जागेश्वर गौतमलाई मन्त्रालयको प्रवक्तामा जिम्मेवारी दिएको छ भने डा.देवकोटालाई गुणस्तर तथा नियमन महाशाखाको प्रमुखमा जिम्मेवारी तोकेको छ ।