कोरोनामुक्त नहुँदै दाङका पाँच जनालाई डिस्चार्ज

दाङ, २५ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका मध्ये पाँच जना कोरोना भाइरसमुक्त भएका छन् भने बाँकी पाँच जना कोरोना भाइरसमुक्त छैनन् ।
पाँच जनामा पिसिआर टेष्टमा कोरोना नेगेटिभ आएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रका आधारमा पिसिआर रिपोर्टमा पोजेटिभ देखिए पनि कुनै पनि लक्षण नदेखिएका पाँच जनालाई पनि डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले बताए । ‘स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार १० जना नै कोरोना संक्रमण मुक्त हुन’ वलीले भने, ‘पाँ जनामा पिसिआर माध्यमद्धारा गरिएको टेष्टमा कोरोना नेगेटिभ छ भने पाँच जना २२ देखि २३ दिनसम्म आइसोलेसनमा बसेका छन् ।’ स्वास्थ्य निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा राखेपछि डिस्चार्ज गर्ने भनिएको छ । त्यसैलाई आधार मानेर कुनै पनि लक्षण नदेखिएका पाँच जनालाई पनि घर पठाइएको वलीले बताए ।
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट गत १६ जेठमा पिसिआर नेगेटिभ आएका आठजनालाई घर पठाइएको थियो । आइतबार डिस्चार्ज भएकामा दाङको घोराही उपमहानगरपालिकाका एक जना, गढवा गाउँपालिकाका एक जना, बाँकेका पाँच जना, कपिलवस्तुका दुई जना र बर्दियाका एक जना छन् । आइतवार १० जना डिस्चार्ज भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको वलीले वताए ।