सेती अस्पतालको डायलाइसिस युनिट सिल, मिर्गौला रोगी समस्यामा

धनगढी, २५ जेठ । सेती प्रादेशिक अस्पतालमा बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गरेको डायलाइसिस युनिटमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको छ।
धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको शुक्रबार डायलाइसिस गर्ने क्रममा मृत्यु भएको थियो । मृत्युपछि कोरोना पुष्टि भएसँगै शनिबारदेखि युनिट सिल गरिएको छ । युनिट सिल भएपछि नियमित रुपमा डायलाइसिस गराउँदै आएका मिर्गौला रोगीहरु समस्यामा परेका छन्।
डायलाइसिस युनिटका व्यवस्थापक दीपक भट्टले शनिबारदेखि सोमबारसम्मका लागि सिल गरिएको बताए। उनले युनिट सिल गर्दै संक्रमित महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी एवं सम्पर्कमा आएका अन्य समेत सात जनालाई क्वारेन्टिईनमा राखिएको बताए । व्यवस्थापक भट्टका अनुसार सेती प्रादेशिक अस्पतालमा सञ्चालित डायलासिस युनिटबाट ५५ जना मिर्गौला रोगीले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।
मृतक महिला लामोसमयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिइन । तर यहाँभ भने उनी पहिलो पटक डायलाइसिस गराउन आएकी थिइन । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो।