पूर्वी नवलपरासीमा भेटिएका कोरोना संक्रमित भरतपुर अस्पतालको आईसियूमा उपचाररत बिरामी

चितवन, २५ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोटमा आज भेटिएका कोरोना संक्रमित भरतपुर अस्पतालको आईसीयूमा उपचाररत बिरामी रहेको बुझिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिएको जानकारी अनुसार हुप्सेकोट गाउँपालिका ४ का कोरोना संक्रमण पुष्टि भएका पुरूष भरतपुर अस्पतालको कोभिड आईसियूमा उपचाररत छन् ।
उनलाई शनिवार राती साँढे दश बजे भरतपुर अस्पतालको कोभिड आईसियूमा भर्ना गरिएको भएपनि आइतवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्टमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । उनको बुधवार स्वाब संकलन गरेर परीक्षणको लागि पोखरा पठाईएको थियो ।
उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि ती पुरूषलाई क्वारेन्टाइनबाट रिफर गरेर भरतपुर अस्पताल कोभिड आईसियूमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । ती पुरूषको स्वास्थ्य अवस्था मध्यम रहेको उनले बताए । दुईसाता अघि भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा बस्दैँ आएको पाईएको डा. पौडेलले जनाए । योसँगै चितवनमा आठजना संक्रमित उपचाररत छन् ।
कोरोना भाइरस संक्रमित पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षिय पुरूष , देवचुली नगरपालिका–१ का १९ वर्षीय युवक, विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षिय पुरुष, बुलिङटार गाउँपालिका १६ वर्षका पुरूष र भरतपुर महानगरपालिका वडा नं. ६ का ५२ वर्षिय पुरूषको भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसन वाडमा उपचार भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
त्यस्तै, भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया वृद्धा र उनको ७३ वर्षिया श्रीमतीलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए । उनीहरू भारतबाट केही समयअघि नेपाल आएको पाईएको उनले जनाए ।
यसअघि पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीहरू एकै परिवारका आमा–छोरा हुन । त्यस्तै, हेटौंडा उपमहानगरपालिका १ निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २५ वर्षीया गर्भवती महिला कोरोनामुक्त भएर जेठ १८ गते घर फर्किसकेकी छिन । उनीहरूको भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।