भारत विश्वकै पाँचौं कोरोना संक्रमित मुलुक, संक्रमितको संख्या २ लाख ४५ नाघ्यो
यस्तो छ विश्वका केही गतिविधि

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिएको हो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले सबै कोभिड अस्पताललाई जेठ २० गते जारी भएको ‘नेशनल टेस्टिङ गाइनलाइड फर कोभिड–१९’ अनुसार संक्रमण पुष्टि भएको केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न जेठ २१ गते नै परिपत्र गरिसकेको छन् ।
भारतमा कोरोना भाइरसका कारण संक्रमित हुने दर दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा झन्डै १० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ४६ हजार नाघेको छ । भारतमा बढ्दो कोरोना संक्रमितका कारण भारत विश्वकै पाँचौ कोरोना संक्रमण मुलुक बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार नजिक पुगेको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम जारी
बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने क्रम अझै रोकिएको छैन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस संक्रमणका कारण २ सय ४ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ५ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा १५ सय ५७ नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै बेलायतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८४ हजार नाघेको छ
२० लाख खोप तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना विरुद्ध लड्नका लागि २० लाख खोप तयार भइसकेको दावी गरेका छन् । पत्रकारसँगको कुराकानीमा उनले अमेरिकाले कोरोना विरुद्धको लडाईंका लागि २० लाख खोप तयार पारिसकेको बताए । तर, उनले खोप तयार भएपनि मानव परीक्षणका लागि यो प्रभावकारी छ छैन भन्ने विषयमा वैज्ञानिकहरुको प्रमाणिकरणको आवश्यकता रहेको पनि बताए । उनले वैज्ञानिकहरुको प्रमाणिकरपछि बजारमा यी खोप उपलब्ध गराइनेछ । केहि दिनअघि मात्रै अमेरिरकाले कोरोना विरुद्धको खोपका लागि ५ वटा औषधि कम्पनीलाई छनोट गरेको थियो । अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो जहाँ कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमित हुने दर बढ्दो क्रममा नै छ । हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार नाघिसकेको छ भने १९ लाख ८८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
विश्वव्यापी महामारी बनेको नोबेल कोरोना भाइरस कारण विश्वभर संक्रमित हुनेको संख्या ६९ लाख ८० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण ४ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये ३४ लाख १३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।