डाक्टर दासले विकास गरेका कोरोना विरुद्धको खोपप्रति डब्लूएचओको चासो

काठमाडौं, २३ जेठ । विश्व स्वास्थ्य संगठनले नेपालमा विकास गरिएको भनिएको कोरोना विरुद्धको खोपको विषयमा चासो व्यक्त गरेको हो ।
हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा संगठनले चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।
जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले भिडियो कन्फ्रेन्समार्फत् नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जानकारी दिए ।
यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण विश्व स्वास्थ्य संगठनमा पठाइएको थियो ।
अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फ्रेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।
करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए ।
’सर्वप्रथम नेपालको सम्बन्धीत निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो’, प्रा. गैरेले भने ।
उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ ।
प्रा. डा. दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गरेको जिकिर गर्दै आएका छन् ।
रासस