मुलुकमा स्वास्थ्य आपतकाल लागू गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा स्वास्थ्य आपतकाल लगाउने विषयमा औपचारिक निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्याको साथसाथै मृत्यु हुने दरपनि बढ्दै गएकाले स्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा मन्त्रालयले औपचारिक निर्णय गरेको बताए ।
उनले मुलुकमा स्वास्थ्य आपतकाल घोषणाका लागि लामो समय छलफल भएको र संक्रामक ऐन २०२० अनुसार यो निर्णय गरिएको बताए । उनले भने, ''स्वास्थ्य आपतकालको विषयमा छलफलपछि औपचारिक निर्णय गरिएको र मन्त्रीपरिषदबाट पारित गराउनका लागि प्रस्ताव पेश गर्ने पनि निर्णय गरिएको हो ।''
मन्त्रीपरिषदबाट पारित भएपछि मुलुकमा स्वास्थ्य आपतकाल लागू हुनेछ । स्वास्थ्य आपतकाल प्रस्ताव पेश गर्नका लागि मन्त्रालयका सचिवलाई तोकिएको निर्णय मन्त्रालयले गरेको बताए ।
प्रवक्ता देवकोटाका अनुसार स्वास्थ्य आपतकालमा अन्य मुलुकबाट स्वास्थ्य सेवा प्रवाहका लागि सहयोग लिन सकिने, मुलुकमा फैलिएको महामारीलाई नियन्त्रण गर्न नसकिने भएकाले सबै अन्य मुलुकसँग स्वास्थ्य सामग्रीपनि लिन सकिनेछ । साथै महामारी नियन्त्रणका लागि मुलुकको सबै स्रोत साधन र जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।