धूमपान तथा क्षयरोग नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन प्रभावकारी बनाउन सुझाव

काठमाडौं, १८ जेठ । कोभिड–१९, सर्ने रोग र धूमपान तथा क्षयरोग नियन्त्रणमा संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही बनाउने भन्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया भएको छ । विश्व धूमपानरहित दिवसको अवसरमा आइतबार अन्तरक्रिया भएको हो । लकडाउनका कारण सरोकारवालाबीच यस वर्ष जुम सफ्टवेर (वेविनार) माध्यमद्धारा अन्तरक्रिया गरिएको छ ।
भरतपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, दि युनियन, एपीक्याट, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको साझेदारी थियो ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका सांसद अधिकारीले धूमपान तथा सूर्तिजन्य पदार्थसँग नसर्ने रोगको अन्तरसम्बन्ध रहेको बताए । उनले पछिल्लो समयमा देखा परेको कोभिड–१९ को समेत यससंग सम्वन्धीत रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले बार्षिक २७ हजार भन्दा बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सूर्तिजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गरे ।भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड–१९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको जानकारी दिइन । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी दिए । उनले केही कानूनहरु कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको समेत बताए ।
दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयास राम्रा भए पनि धेरै काम गर्न बाँकी रहेको बताए । उनले कानून कार्यान्वनय गर्ने बाटोमा सरकार फितलो भएको, सरकार सूर्ति उद्योगीको इशारामा चले आरोप लगाए । डव्लुएचओका नेपाल प्रतिनिधि डा. जोशले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड–१९ को जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिए ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले बनाएको कानून र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरेका थिए । उनीहरुले सरकारले कानूनको कार्यान्वयन गर्ने विषयमा खुट्टा कमाएको आरोप समेत लगाए । ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा. ग्रानिया ब्रिगेडियनले अन्तराष्ट्रिय अनुभव र गरिएका कामको जानकारी दिदै नेपालले त्यसबाट सिक्न सक्ने बताएका थिए ।
कार्यक्रमको मोडरेटर भने स्वास्थ्य पत्रकार मञ्च नेपालकी अध्यक्ष कल्पना आचार्यले गरेकी थिइन । कार्यक्रममा दुई सय बढीको प्रत्यक्ष सहभागिता थियो ।