गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुग्यो



Download our app to get more features

कास्की, १८ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पिसिआर परीक्षणमा स्याङ्जाका दुई र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएसँगै यो संख्या २४ पुगेको हो । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैगरी तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

तनहुँमा पहिलो कोरोना संक्रमित
तनहुँमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । यस प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि नै कोरोना संक्रमित फेला परेका थिए ।

यसैबीच बागलुङका १९ र ६५ वर्षका दुई महिला र लमजुङका तीन वर्षका बालक भने उपचारपछि निको भएर घर फर्किएका छन् । बागलुङमा आठ, स्याङजामा सात, पूर्वी नवलपरासीमा ६ र म्याग्दी, तनहुँ र लमजुङका एक–एक जनामा कोरोना संक्रमण भेटिएको हो । पूर्वी नवलपरासीका ६ जनाको चितवनमा उपचार भइरहेको छ । संक्रमितमा लमजुङका एक बालकबाहेक सबै भारतलगायत विदेशबाट आएकाहरु हुन् ।

Last modified on 2020-06-01 15:07:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts