पाँच महिनाकी गर्भवती महिलाले जितिन् कोरोना, आजै घर फर्किइन्



Download our app to get more features

चितवन १८ जेठ । हेटौंडा उपमहानगरपालिका-१ निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त भएकी छिन् ।

ती महिलाको शुक्रवार र शनिवार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भई निको भएकोले आज डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । डिस्चार्ज भएता पनि एक–दुई हप्ता उनी घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए । ती महिलामा उच्च आत्मबल रहेको उनले बताए ।

हेटौंडा उपमहानगरपालिका-१ कि ती २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ १४ गते बुधवार भरतपुर अस्पताल ल्याईएको थियो । 

मंगलवार हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनी र श्रीमान भरतपुर –१२, हुलाक चोकमा डेरा गरी बस्दै आएको खुल्न आएको छ । उनीहरू जेष्ठ ९ गते भरतपुरबाट हेटौंडा गएका थिए । त्यस घरमा घरबेटीका तीन जना परिवार पनि बस्दै आएका थिए । श्रीमान र घरबेटीका परिवारको कोरोना परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सो गर्भवती महिला  डिस्चार्ज भएपछि अहिले पूर्वी नवलपरासी (नवलपुर) का तिनजना पुरूष र भरतपुर महानगरपालिका वडा नं. ६ का एकै परिवारका ३ जना सदस्य सहित ६ जना कोरोना संक्रमितको चितवनमा उपचार भइरहेको भरतपुर अस्पतालले जनाएको छ ।  

संक्रमित पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षिय पुरूष र देवचुली नगरपालिका–१ का १९ वर्षीय युवक, सोहि जिल्लाको  विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षिय पुरुष र भरतपुर महानगरपालिका वडा नं. ६ का ५२ वर्षिय पुरूषको भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसन वाडमा उपचार भइरहेको भरतपुर अस्पतालका मेसु डा. तिवारीले जानकारी दिए । 

त्यस्तै, भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया वृद्धा र उनको ७३ वर्षिया श्रीमतीलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए । बाँकी संक्रमित छ जना नै भारतबाट केही समयअघि नेपाल आएको पाईएको उनले जनाए । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

यसअघि पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए  । उनीहरू एकै परिवारका आमा–छोरा हुन । उनीहरूको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको थियो ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts