क्वारेन्टाइनमा नै मर्न थाले नागरिक, डडेल्धुरामापनि एक बालकको मुत्यु

काठमाडौं, १८ जेठ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्यापनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म कोरोना आशंकामा क्वारेन्टाइनमा बस्नेहरुको संख्या एक लाख ८ हजार नाघेको छ ।
मुलुकका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहेका कोरोना आशंकित व्यक्तिहरुको मापदण्डबिनै बनाइएका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नै मृत्यु हुन थालेको छ ।
डडेल्धुरामा पनि क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बालक रहेका छन् ।
शनिवार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट शनिवार मात्रै डडेल्धुरा पुगेका थिए ।
‘उहाँहरू राति आउनुभएको हो । बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।’ डीएसपी न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं । तर, उनको मृत्यु भइसकेको थियो ।’
डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।
‘बिहान अस्पताल ल्याउनु भएको थियो । ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो । यहाँ पुर्याउँदासम्म सास पनि थिएन ।’ उनले भने ।
ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए ।
उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए ।
यअसघि बाँकेको नरैनापुरमा पनि एक जना व्यक्तिको कोरोना आशंकामा क्वारेन्टाइनमा रहँदा नै मृत्यु भएको थियो । झाडापखालाको समस्या भएका ती व्यक्तिलाई अस्पताल पुर्याउन नपाउँदै क्वारेन्टाइनमा मृत्यु भएको थियो ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिकामापनि शनिवार एक जना ३५ वर्षका व्यक्तिको क्वारेन्टाइनमा नै मृत्यु भएको छ । शनिवार बिहान अकस्मात उनको मृत्यु भएको थियो । पछि मात्रै उनको रिपोर्टमा कोरोना पुष्टि भएको रिपोर्ट सार्वजनिक गरियो ।
कोरोना आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट समयमा नआउँदा र उनीहरुलाई समयमै अस्पताल पुर्याउन नसक्दा अन्य रोगका बिरामीहरु उपचार अभावकै कारण मृत्युको मुखमा धकेलिइरहेका छन् ।