नेपाल मेडिकल कलेज प्रकरणः आकस्मिक बाहेकका सेवा चिकित्सकले गरे बहिस्कार



Download our app to get more features

काठमाडौं, १६ जेठ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । उपचारको क्रममा मृतकका आफन्तले आफूहरुमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै आकस्मिक बाहेकाका सेवा बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले अस्पताल प्रशासनले बिरामीको आफन्तसँग मिलेर घटनाबारेको सिसिटिभी फुटेज लुकाएको र दोषीलाई जोगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल मेडिकल कलेजमा एक जना बिरामीको मृत्यु भएपछि उपचारमा खटिएका चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए । 

श्वासप्रश्वासमा समस्या भएर बुधवार उपचारका लागि जोरपाटीस्ति नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ५४ वर्षीया महिलाको मृत्यु भएको विषयमा चिकित्सकले कारबाहीको माग गरेका छन् ।

महिलाको उपचारमा संलग्न चिकित्सकहरुले आफूहरुले अनेक प्रयास गरेपनि बचाउन नसकेको भनेका छन् भने मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाएका छन् । 

उपचारमा खटिएका डा श्रीकुमार श्रेष्ठले महिलाको मृत्यु भएको खबर परिवारलाई दिन जाँचा उनीहरुले कुरा नबुझी हातपात गरेको बताएका छन् । यता मृतक महिलाका परिवारजनले भने आफूहरुले कसैमाथि हातपात नगरेको र चिकित्सको लापरबाहीले बिरामीको मृत्यु भएको बताएका छन् । 

यता उपचारमा खटिएका डा.श्रेष्ठले भने बिरामीको अवस्थाबारे परिवारलाई जानकारी गराएरै उपचार गरिएको तर बिरामीको अवस्था बिग्रिएका कारण मृत्यु भएको भन्दै चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारबाहीको माग गरेका छन् । उनले चिकित्सकमाथि हातपात गरेको  सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । अस्पताल प्रशासनले नै घटनाबारेको सिसिटिभी फुटेज लुकाएको र आफूहरुलाई बद्नाम गर्न खोजेको दावी गरेका छन् ।
 

यसैबीच, नेपाल चिकित्सक संघले कोरोना विरुद्धको लडाईंमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि विभिन्न पक्षबाट अमानवीय व्यवहार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकललाई संघले कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथी अमानवीय व्यवहार भएको भन्दै ध्यानाकर्षण गराएको हो । 

संघले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि शारीरिक हमला गर्ने, सुरक्षाकर्मीहरु मुकदर्शक भएर बस्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई घरधनीहरुले घरमा आउन नदिने, वा घरबाट बाहिर बस्न दवाव सिर्जना गर्ने, होटल व्यावसायीहरुले चिकित्सकहरुलाई बस्न नदिने जस्ता विविध घटनाक्रमहरुप्रति संघले सरकारको ध्यानाकर्षण गराएको संघका महासचिव डा. बद्री रिजालले बताए ।

उनले यस्ता घटनालाई तत्काल रोक्न र स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको उचित व्यवस्थापन सहितको माग सरकारसँग गरिएको पनि बताए ।

आफ्ना मागहरुका साथै समग्र स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गरेर सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गराउने कार्य समेत सरकारको प्राथमिकतामा नपर्ने हो भने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले मात्र राज्यको ईज्जत, प्रतिष्ठा र सुरक्षित स्वास्थ्य सेवाको जिम्मेवारी बहन गर्न नसक्ने संघले जनाएको छ । 

यस्ता छन् संघका ९ बुँदे माग 

१. उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्था माथि आक्रमण गरेको खण्डमा आक्रमण गर्ने व्यक्तिलाई थुनामा राखि आवश्यक कारवाही गर्न सकिने मन्त्री परिषद्को निर्णय बिपरित बारम्बार शारिरीक हमला तथा तोडफोडका घटनाहरु सार्वजनिक भईरहेकाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउनु पर्ने । साथै हालै नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथी भएको शारीरिक हमलामा संलग्न दोषीहरुलाई तत्काल हिरासदमा लिई छानबिन गर्नु पर्ने ।

२. नेपाल सरकार मन्त्री परिषद्को मिति २०७६ चैत्र २२ गतेको निर्णयलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा समावेश गरी  दीर्घकालिन रुपमा स्वास्थ्यक्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई उच्च पार्नु पर्ने । 

३. महामारीको यस आपतकालिन अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु दिनप्रतिदिन संक्रमित हुने क्रम बढ्दै गईरहेकोमा नीजहरुलाई सुरक्षित आवास तथा एकान्तवासको व्यवस्था सुनिश्चित गर्नु पर्ने ।  

४. स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई मन्त्री परिषद्को निर्णय बमोजिमको जोखिम भत्ता अबिलम्ब उपलब्ध गराउनु पर्ने । 

५. अहिले उपचारमा खटिने सबै चिकित्सकको अनिवार्य स्वास्थ्य विमा र निःशुल्क स्वास्थ्य जाँचको प्रवन्ध मिलाउनु पर्ने ।  

६. कोभिड १९ को महामारीका अवस्थामा उत्पन्न विषम परिस्थितिमा आवश्यक सुरक्षाका सामग्रीहरुको अभावका बाबजुद पनि चिकित्सक, स्वास्थ्यकर्मीले निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेका छन् । यस्तो अवस्थामा नीजहरुको रोजगारीको सुरक्षा र जीविको पार्जनका निम्ती सरकारले सरोकारवाला पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अभिभावकत्व ग्रहण गर्नु पर्ने ।

७. स्वास्थ्य क्षेत्र बिशुद्ध प्राविधिक र मानवजीवनसँग सम्बन्धित क्षेत्र भएकोले स्वास्थ्यको नेतृत्वदायी भूमिका (स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग लगायतका निकायहरु) मा चिकित्सकको नेतृत्वदायी भूमिका सुनिश्चित गरिनु पर्ने । 

८. बंगलादेश लगायत विभिन्न मुलुकमा अड्किएर बसेका चिकित्सक तथा विद्यार्थीहरुलाई अबिलम्ब स्वदेशमा ल्याउने व्यवस्था मिलाउनु पर्ने । 

९. कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै संक्रमितहरुसँगको सम्र्पकमा रहेका प्रत्येक व्यक्तिलाई अनिवार्य रुपमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम एकान्तवासमा राख्ने,  रियल टाइम पिसिआर परीक्षणको दायरा बढाउने, स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको व्यवस्था सहित सम्र्पक नम्बर सार्वजनिक गर्नु पर्ने, तोकिएको स्वास्थ्य संस्थामा भेन्टिलेटर सहितका आइसियू बेडहरु, आवश्यक औषधी, पिपिई लगायतका सुरक्षाका सामग्रीहरुको  सहज उपलब्धता सुनिश्चित गरिनु पर्ने ।    

Last modified on 2020-05-31 15:05:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts