सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो



Download our app to get more features

धनगढी, १५ जेठ । सुदूरपश्चिम प्रदेशमा तीन जना कोरोनाका संक्रमित थपिएका छन्।  सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँने क्रममा उनले यस्तो बताएका हुन् । थपिएका संक्रमित मध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। तीन जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ।

सुदूरपश्‍चिममा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका थिए। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप दुई जनमा कोरोना पुष्टि भएको थियो। कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिकामा कोरोना देखिएको थियो। अछामकी संक्रमित बालिका ८ जेठमा बुबसंगै गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेकी थिइन्। उनका बुवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सेती अस्पतालमा उपचार भइरहेको छ।

कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए। उनी पनि भारतबाट आएका थिए। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो
कैलालीका तीन जना संक्रमितमध्ये एकजना भारतबाट लुकिछिपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए। अन्य तीनजनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।
शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। 

सुदूरपश्‍चिम प्रदेशमा गत १४ चैतमा पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि २२ चैतमा थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। १ वैशाखमा लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्‍चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

Last modified on 2020-05-28 10:54:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts