बागलुङमा एकैदिन ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पोखरा, १४ जेठ । बागलुङमा एकैदिन ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर बडीगाड गाउँपालिकाको क्वारेन्टीनमा बसेका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रयोशालामा गरिएको परीक्षणमा गाउँपालिकाका १९ र २० का २ जना पुरुष र तमनखोला गाउँपालिकाका २१ वर्षका २ जना र २७ वर्षका २ जना पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रमुख डा बिनोद विन्दु शर्माले बताए ।
संक्रमित सबैलाई धौलागिरि अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यसैबीच प्रदेशसभा बैठकमा मंगलबार बागलुङका सांसद इन्द्रलाल सापकोटाले ३ सय १५ जना भारतबाट आएको तथ्यांक दिएका थिए । यस्तै, उनले बागलुङमा एक हजारजना भारतबाट आउन सक्ने हुँदा क्वारेन्टाइनसहित स्वाब परीक्षण, स्वाब परीक्षणका लागि भीटीएम मेसिनको अभाव रहेको विषयमा ध्यानाकर्षण गराएका थिए ।
बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु स्वास्थ्य लाभसमेत गरिसकेका छन् । एक महिनाअघि ९ वैशाख १३ गते बागलुङकी संक्रमित दोस्रो युवती संक्रमणमुक्त हुँदै डिस्चार्ज बनेकी थिइन् ।