सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ पुग्यो



Download our app to get more features

धनगढी, १३ जेठ ।  सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या १७ पुगेको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको हो। कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।

अछामकी संक्रमित बालिका ८ जेठमा बुबासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुबामा पनि आइतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ। उनको सेती अस्पतालमा उपचार भईरहेको छ। कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन् । उनी पनि भारतबाट आएको खुलेको छ। सोही क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। 

सुदूरपश्चिम प्रदेशमा गत १४ चैतमा पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी दुबईबाट फर्किएका थिए। त्यसपछि २२ चैतमा थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका–५ की ३४ बर्षीया महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए। 

१ बैशाखमा लम्की चुहा नगरपालिका–१ की ६१ बर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन्। १ बैशाखसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन्।  ९ जेठमा एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए।

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि १० जेठमा थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका–१ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना ८ जेठमा भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। ११जेठमा अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो। उनी पनि ८ जेठमा नै भारतबाट फर्किएका थिए।

Last modified on 2020-05-26 16:15:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts