कोरोना महामारी नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति सफलः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति उपयोगी भएको बताएका छन् ।
सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारले कोरोना महामारीका लागि अबलम्बन गरेका रणनीतिहरु सफल भएको बताए ।
सुरुका दिनमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको तयारीमा केही अलमल देखिएपनि कोरोना उपचारका लागि तोकिएका अस्पताल, आइसोलेसन वार्ड लगायतका तयारी पछिल्लो दिनमा प्रभावकारी रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुक प्रभावित बनिरहेको बेला नेपालमा जारी गरिएको लकडाउन, कोरोना परीक्षणको दायरा बढेकोले यसले कोरोना महामारीलाई नियन्त्रणमा सहयोग पुगेको छ ।’
उनले विज्ञहरुको सुझावमा नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा कोरोना जाँचको दायरा बढाइने र नेपालले कोरोना विरुद्धका लागि गरेको तयारी विश्वका अन्य मुलुकको तुलनामा प्रभावकारी रहेको पनि दावी गरे ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको उच्च जोखिम रहेका क्षेत्र र प्रदेशलाई शिल गरि द्रूत गतिमा काम गर्न, औषधि आपूर्ति, किटको उपलब्धताका लागि सरकार सेचत रहेको उल्लेख गरे ।
उनले कोरोना विरुद्धको लडाईंमा सक्षम बनाउनका लागि स्थानीय सरकारलाई स्वास्थ्य सेवा, औषधि, किटको पहुँच, सुरक्षा लगायतका क्षेत्रमा प्रदेश र केन्द्र सरकारले समन्वय गर्ने भन्दै नेपाल कोरोना महामारीका लागि सचेत रहेकोे बताए ।