दार्चुला पुगेर डा. केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा

दार्चुला, १२ जेठ । दार्चुला पुगेका प्रा.डा. गोविन्द केसीले २ दिने सत्याग्रहको घोषणा गरेका छन् । सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न माग गर्दै उनले दुई दिने सत्याग्रहको घोषणा गरेका हुन् ।
सोमवार विज्ञप्ति जारी गर्दै डा केसीले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन् ।
उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन माग गरेका छन् । साथै डा.केसीले गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि माग गरेका छन् ।
डा गोविन्छ केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर बझाङ, बैतडी हुँदै दार्चुला पुगेका हुन् । उनी यसअघि गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका थिए । उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थगित भएको थियो ।
२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरु आजसम्म सम्बोधन भएका छैनन् ।