कोरोना संक्रमितको सङ्ख्याबारे स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण सूचना, सुदूरपश्चिममा त्रास

धनगढी, १२ जेठ । कोरोना संक्रमितको सङख्याबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ । मन्त्रालयले शनिबार साझ ५ बजे जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो । मन्त्रालयले संक्रमितको संख्या गलत दिएपछि सुदूरपश्चिममा त्रास समेत फैलिएको छ ।
मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी बैतडीमा सात जना, त्यसपछि डडेल्धुरामा पाँच जना संक्रमित रहेको उल्लेख छ ।
कैलाली र कञ्चनपुरमा एक÷एक जना संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ । कञ्चनपुरका एक र बैतडीका सात जना मध्ये चार जना निको भएर घर फर्किएको उल्लेख गरिएको छ । एक जना मात्रै संक्रमित रहेको डडेल्धुरा जिल्लामा पाँच र बैतडीका पाँच जनामा मात्रै संक्रमण पुष्टि भएकोमा सात जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेपछि ती जिल्लामा त्रास फैलिएको छ ।
उक्त सूचना राखेको १६ घण्टा भईसक्दा समेत मन्त्रालयले सच्याएको पनि छैन् । कैलालीमा संक्रमितको सङख्या सात रहेकोमा मन्त्रालयले एक जना मात्रै जिल्लामा संक्रमित रहेको गलत सूचना प्रवाह गरेको छ ।
संक्रमण पुष्टि नहुँदै बैतडी र डडेल्धुरामा संक्रमितको सङख्या स्वास्थ्य मन्त्रालयले नै बढाईदिएपछि दुवै जिल्लाका वासिन्दामा त्रास बढेको हो ।