काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि देखिए कोरोना संक्रमित

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं टोखाका २७ र ४१ वर्षीय पुरुष, बुढानिलकण्ठका ३७ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिकाका १९, २० र २३ वर्षीय पुरुष, धनुषा नगराईन नगरपालिकाका ३१ र ३५ वर्षीय पुरुष, बारा कोटवालीका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका १५, १८, २७ र २९ वर्षीय पुरुषहरु, २५ वर्षीया एक जना महिला तथा सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा २४ र २५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी किटजन्य रोग अनुसन्धान तालीम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको गढीमाई नगरपालिकाका १८, १८, १८, १८, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश नम्बर ५ मा थप ३ जनामा कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २ सय ८९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर २ मा ५४ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २ सय ३३ पुगेको छ भने कोरोना भाइरसका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ । पर्साको नेशनल मेडिकल कलेजमा उपचाररत एक जनाको मृत्यु भएको थियो । जसको नमूना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् ।
गत जेठ ४ मा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको भन्दै डा. उपाध्यायले नारायणी अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट संकास्पद आएपछि पुनः परीक्षणका लागि टेकु पठाइएको र त्यहाँ उनको रिपोर्टमा कोरोना पुष्टि भएको बताए ।
जेठ ४ मा मृत्यु पछि परिवारजनलाई शवको जिम्मा लगाइएको थियो । उनको अन्तिम संस्कार पनि गरिसकिएको छ ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित ती व्यक्तिलाई जेठ २ गते भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ४ गते मृत्यु भएको थियो ।
यसअघि विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणका क्रममा सप्तरीका २ जना, टेकुमा गरिएको परीक्षणमा बारा र धनुषाका गरि २ जना, रौतहटका २६ जनामा कोरोना पुष्टि भएको थियो ।