बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरियो

बाँके, ११ जेठ । बाँकेको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रहेका संक्रमित भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट लागू हुनेगरि निषेधित क्षेत्र घोषणा गरिएको र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
‘संक्रमितहरुको संख्या धेरै बढ्यो । यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ । त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो’, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।
प्रदेश नम्बर ५ को बाँकेको जिल्लाको नरैनापुर गाउँपालिकामा मात्रै कोरोनाका कारण १ सय १४ जना संक्रमित भएका छन् । उनीहरु मध्ये एकको मृत्यु भएको छ ।
यसअघि गाउँपालिकाले समेत कोरोना संक्रमित बढ्न थालेपछि संक्रमण समुदायमा फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न केन्द्र सरकारसँग समेत अनुरोध गरेको थियो ।
शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको हो ।