सुदूरपश्चिममा फेरि थपिए एकजना कोरोना संक्रमित

धनगढी, ११ जेठ । सुदूरपश्चिम प्रदेशमा थप एकजनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट नेपाल फर्किएका थिए ।
सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा उनलाई राखिएको थियो । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ । योसँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ ।
यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो । यसअघि शनिवार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषको पनि सेतीमै उपचार भईरहेको छ ।
शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
वैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन् । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन् ।