मर्चवार क्षेत्रमा क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै स्थानीयद्वारा प्रर्दशन

रुपन्देही, १० जेठ । रुपन्देहीको मर्चवार क्षेत्रमा क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै स्थानीयले प्रर्दशन गरेका छन् । कोटहिमाई गाउँपालिका–६ बोगडीस्थित बिद्यालयमामा रहेको क्वारेन्टाइन व्यबस्थित नभएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।
क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीको लापरबाहीका कारण जोखिम बढेकाले विरोध प्रर्दशन गर्नुपरेको स्थानीयले बताएका छन् । पाँच दिनअघि स्थापना गरिएको क्वारेन्टाइनलाई व्यबस्थित गर्न र कर्मचारीको लापरबाही रोक्न माग गर्दै उनीहरुले गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलाई आग्रह गरेका थिए । तर अध्यक्ष यादवले उनीहरुको मागको बेवास्ता गरेको आरोप छ । प्रर्दशनमा सहभागीहरुले गाउँपालिका अध्यक्षबिरुद्ध पनि नाराबाजी गरेका थिए ।
क्वारेन्टाइनमा बसेकाहरु साँझपरेपछि घुम्न निस्कने र कर्मचारीहरुले क्वारेन्टाइनमा खाना खाएर बाँकी खाना घर लैजाने गरेका कारण जोखिम बढेको स्थानीय सन्दीप त्रिपाठको भनाई छ । क्वारेन्टाइनको व्यबस्थापन गर्नको लागि आग्रह गर्दै स्थानीय मझगावा प्रहरी चौकीमा निवेदन दिए पनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।