सुदूरपश्चिमका पाँचै जना संक्रमितलाई टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा राखिने

धनगढी, ९ जेठ । सुदूपश्चिमा शुक्रवार भेटिएका पाँचै जना कोरोना संक्रमितलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिने भएको छ ।
४० दिनपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका नयाँ संक्रमित भेटिएपछि उनीहरुलाई टीकापुर, बैतडी र डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखनेर उपचार गरिने छ ।
शुक्रवार एकैदिन सुदूरपश्चिमका तीन जिल्लाका गरि ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल लैजान थालिएको हो ।
कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ ।
सबै संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भएपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएकाले सम्बन्धीत क्षेत्रकै अस्पतालमा भर्ना गर्न थालिएको छ । कैलालीका तीन जना संक्रमितलाई टीकापुर अस्पताल लगिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले जानकारी दिईन् ।
यस्तै डडेल्धुराका २८ वर्षीय संक्रमितलाई पनि डडेल्धुरा अस्पतालकै आईसोलेसनमा राखिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । यस्तै बैतडीका संक्रमितलाई पनि जिल्ला अस्पतालमै राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
वैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन् ।