गौरीफन्टाबाट दुई हजार भित्रिए, ४ सय ५० जनाको आरडिटी परीक्षण

धनगढी, ८ जेठ । भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट उद्दार जारी छ ।
कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो । गौरीफन्टा नाकाबाट सात बजेसम्म दुई हजारलाई भित्र्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । अझै उद्दारको क्रम भने जारी रहेको उनले बताए ।
यस्तै अहिलेसम्म चार सय ५० जनाको र्यापिड टेस्ट गरिएको छ । सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार चार सय ५० जनाको र्यापिड टेस्ट गर्दा ११ जनामा एन्टिबडी देखाएको छ ।
यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो । बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहीवार भने सीमानाकामै र्यापिड टेस्ट भईरहेको हो । सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
धनगढी भित्र्याईएका नेपालीलाई बिहीवार सम्बन्धीत पालिकासम्म पुर्याउने तयारी पनि गरिएको छ । त्यसका लागि विभिन्न पालिकाहरुले गाडीको व्यवस्थापन समेत गरेको जनाएका छन् । बिहीवार गन्तव्यमा पठाउन नसकिएका नेपालीलाई भने धनगढीकै क्वारेन्टाइनमा राखिने स्थानीय प्रशासनले जनाएको छ ।